काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र जीवन विकास लघुवित्त वित्तीय संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बुधबार भएको उक्त सम्झौतापत्रमा कोषका कार्यकारी अधिकृत रमेश घिमिरे र जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापत्र अनुसार अब कोषले जीवन विकास लघुवित्तले लघु ब्यवसायका लागि बिनाधितो ब्यक्तिगत वा सामूहिक जमानीमा लगानी गरेको प्रतिब्यक्ति १० लाखसम्म र धितो जमानीमा लगानी गरेको २० लाखसम्म कर्जा सुरक्षण गर्नेछ । कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा संस्थाले कोषसमक्ष दावी गरेपछि उक्र दावीले कोषले ७५ प्रतिशत भुक्तानी दिने ब्यवस्था गरिएको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा कोषका कर्जा सुरक्षण विभागका प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका उच्चपदस्थ कर्मचारीको सहभागिता रहेको थियो ।


