काठमाडौं । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले प्रधानमन्त्री केपी शर्माको चीन भ्रमणमा भएका सम्झौता बमोजिम नेपालमा उत्पादित बस्तुहरु चीनतर्फ निर्यातका लागि पहलकदमी गर्न आग्रह गरेका छन् । अध्यक्ष बस्नेतले नेपाल उद्योग बाणिज्य महासंघको बार्षिक साधारणसभामा यस्तो माग गरेका हुन् ।
उनले अर्थतन्त्र सुधारका लागि निर्यातमा जोड दिनु अपरिहार्य रहेको बताए । बस्नेतले कोभिड अघिसम्म तातोपानी नाका हुँदै दैनिक रुपमा ८/१० वटा कन्टेनर नेपाली सामान चीन निकासी हुने गरेकामा त्यसपछिका वर्षमा निकासी ठम्प रहेको उल्लेख गरे । यसका लागि भएका सम्झौता अनुसार कार्यान्वयन आवश्यक हुने उनको तर्क छ ।
मन्तब्यका क्रममा उनले भने, ‘नेपाली बस्तुमा शून्य भन्सार भनिएको छ तर निकासी गर्न पाइएको छैन यसको के अर्थ रह्यो ।’ उनले संकटको अवस्तथामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन नेपाली उत्पादनमा जोड दिएर निकासी गर्नुको विकल्प नभएको बताए । यसका साथै महासंघलको राजस्व समिति अन्तर्गत उपसमिति गठन गर्दा ठूलो भन्सार कार्यालय रहेकोले सिन्धुपाल्चोक जिल्लालाई पनि त्यसमा राख्न माग गरे । उनले सम्बन्धित जिल्लाहरु उक्त समितिमा हुँदा भन्सारमा आइपर्ने दैनिक समस्याहरु समाधान गर्न धेरै सहज हुने प्रष्ट पारे ।


