काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो निर्देशन उल्लंघन गर्ने पाँच वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले आव २०८१/८२ को दोस्रो त्रैमासमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भेटिएसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ दशमलव ८७ रुपियाँ जरिवाना तिराएको छ । यसका साथै राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले कर्जाको वर्गीकरणमा सुक्ष्म निगरानी अपनाउन चुकेको, कर्जा अवधि नाघेकामा पनि सोही आधारमा वर्गीकरण नगरेको पाइएपछि कारबाहीस्वरूप चेतावनी दिइएको हो भने कुमारी बैंकले पनि निष्क्रिय कर्जा तथा सूक्ष्म निगरानी अन्तर्गतका कर्जाहरूको सही वर्गीकरण नगरेको र न्यूनतम नोक्सानी व्यवस्था पनि कायम नगरेको भन्दै कार्यकारी प्रमुखलाई सचेत गराइएको छ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकमा संस्थापकको नाममा सञ्चालित चालु खातामा ऋणात्मक मौज्दात देखिएको, सोही आधारमा अप्रत्यक्ष रूपमा कर्जा सुविधा प्रदान गरिएको पुष्टि भएपछि सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ। यस्तै नेपाल बैंकका सीईओलाई सचेत गराउँदै ५ लाख जरिवाना तिराएको छ ।