काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सरकारको मुख्य उदेश्य नै सुशासन र भ्रष्टचारको अन्त्य रहेको जिकिर गरिरहेकी छिन् तर उनी आफैं मातहत राखेको गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहचलमा भने श्रम स्वीकृतिका नाममा खुलेआम लुटको भन्दा चलिरहेको छ ।
रोजगारीका लागि विदेश जानेलाई उसले अनलाइनमार्फत पेस गरेको कागजातको परीक्षण गर्नु यस कार्यालयको मुख्य काम हो । तर त्यहाँ सेटिङबिना कुनै पनि काम नहुने एक सेवाग्राहीले गुनासो गरे । अहिले कार्यालयको ब्यक्तिगत श्रम स्वीकृति शाखामा रहेका नायब सुब्बाहरु सोमप्रसाद पोखरेल र दिलिप कुमार ओलीको रजगज रहेको स्रोतले दावी गरेको छ ।
एमाले कर्मचारी संगठनमा आवद्ध रहेका पोखरेल करिब १ वर्षदेखि नै उक्त शाखामा छन् । पोखरेल यसअघि अध्यागमन विभागमा दरबन्दी राखेर धेरैपटक कार्यालय प्रमुखको मुख्य हर्ताकर्ताको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा बसेको एक कर्मचारीले बताए । उनी ओली नेतृत्वको सरकार हुँदासम्म त मलाई विभागको डिजीले पनि केही गर्न सक्दैनन् भन्दै हिड्ने गरेको विभागकै एक कर्मचारीले बताए ।
अर्का नायब सुब्बा दिलिप बहादुर ओली पनि अहिलेको वैदेशिक रोजगार कार्यालयका चलेका कर्मचारी हुन् । यसअघि कम्पनी रजिष्ट्रार कार्यालयमा लामो समयसम्म बसेका उनलाई पावरवाला सुब्बा भनेर चिनिन्छ । अनलाइन भनेपछि जोसुकै ब्यक्तिले भरे पनि हुनुपर्ने हो तर तपाईले तोकिएका सबै कागजात संलग्न गरेर पेश गरेपनि त्यो सिँधै रिजेक्ट गरिन्छ किनकि तपाईको टोकन नम्बर कार्यालयका कर्मचारीले प्रयोग गर्ने ह्वाट्सअप नम्बरमा आएको हुँदैन । अर्थात् सरल भाषामा भन्नुपर्दा ब्यक्तिगत स्वीकृतिका लागि कार्यालयले निर्धारण गरेको दररेट श्रम प्रतिनिधिले जिम्मा लिएपछि मात्रै अप्रुभ हुने त्यहीकै एक कर्मचारीले बताए । उनका अनुसार कार्यालयले खाडी देश र युरोपियन देशका लागि फरक रेट राखेको छ । शाखामा रहेका उनीहरुले रकम आउने निश्चित नभएसम्म भेरिफाई नै नगर्ने बताइन्छ ।
अहिले मासिक रुपमा करिब १२ हजार नेपालीहरु ब्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारीमा लागि विदेश जाने गरेको विभागको तथ्यांक छ । बैदेशिक विभाग अन्तर्गत रहेको यस कार्यालयमा अहिले बिचौलिया निषेध ठूलो ब्यानर राखिएको छ तर यसको कुनै अर्थ छैन किनभने यहाँ जे काम हुन्छ अनलाइन मार्फत नै हुन्छ ।


