काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य नेताको नेतृत्वमा पनि आफू सहमत हुन सक्ने संकेत गरेका छन्।
पत्रकारसँगको कुराकानीमा उनले अध्यक्ष ओली अभिभावकको भूमिकामा बस्ने हो र महाधिवेशनको हलमै औपचारिक रूपमा नयाँ नेतृत्व प्रस्ताव गर्ने हो भने सहमति सम्भव हुने बताएका हुन्। पोखरेलले ओलीले आफू हटेर अर्को व्यक्तिलाई अध्यक्ष घोषित गरेमा आफूलाई कुनै आपत्ति नभएको बताए ।
‘सहमति हुनसक्छ । तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने,’ पोखरेलले थप भने, ‘उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ । अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन ।’


