काठमाडौं । पूर्व ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बनेर देश नै उज्यालो बनाउन आफू राजनीतिमा लागेको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेका घिसिङले बौद्ध खाईबाटोल–भुवालडाँडा क्षेत्रका स्थानीयसँगको भेटघाटमा क्रममा यस्तो बताएका हुन् ।
लामो समय कर्मचारी संयन्त्रमा रहेर नेपाल विद्युत प्राधिकरणको नेतृत्व सम्हालेका घिसिङले प्राविधिक क्षेत्रबाट मात्र देशको मुहार फेर्न नसकिने निष्कर्ष सुनाए। उनले एउटा कुना मात्र उज्यालो भएर नहुने भन्दै सिङ्गो देशलाई उज्यालो बनाउन र सबै क्षेत्रको बेथिति अन्त्य गर्न राजनीतिक नेतृत्वमै पुग्नुपर्नेमा जोड दिए।
कुरा मात्र गरेर देश नबन्ने भन्दै उनले काम गर्नका लागि कार्यकारी भूमिका अर्थात् प्रधानमन्त्रीकै तहमा पुग्नु अपरिहार्य रहेको जिकिर गरे। उनले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।


