काठमाडौं । राष्ट्रसेवक सहकारी संस्था सिन्धुपाल्चोकको चौथो साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी संगठनद्वारा सञ्चालित यस संस्थाको चौथो साधारणसभा आज सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोक जिल्ला इन्चार्ज मेघराज भट्टराई प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा आफ्नो धारणा राख्दै केन्द्रीय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज मेघराज भट्टराईले संस्थालाई थप गतिशील बनाएर अगाडि जानुपर्नेमा जोड दिएका थिए । उनले आफू संस्था र संगठनको काममा सदैव लागिरहने प्रतिवद्धता ब्यक्त गरेका थिए । यसैगरी उनले राष्ट्रसेवक सहकारी संस्थाको सबलीकरण, सुशासन र दिगो विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।
यसका साथै यस संस्थाको स्थापनाको उदेश्य अनुसार न्यून आय भएका कर्मचारीलाई पुर्याएके योगदान निकै नै सह्राहनीय रहेको उल्लेख गरे । संगठनले सामूहिक प्रयासबाट यस किसिमका काम गर्नुलाई ठूलो उपलब्धिको रुपमा लिनुपर्नेको उनले जोड दिए । कर्मचारीहरुले धेरथोर जम्मा गरेको बचतबाट ऋण लिएर केही कर्मचारीले सहज तरिकाले जिविकोपार्जन गरिरहेको बताउँदै उनले आगामी दिनमा संस्था र त्यसमा जोडिएकहरुले थप जिम्मेवारीका साथ काम गर्न आग्रह गरे ।
भट्टराईले यो संस्था हालसम्म ६८ जिल्लामा सञ्चालनमा आएको जानकारी गराउँदै आफ्नो संगठनले आगामी दिनहरुमा ७७ ओटै जिल्लामा गठन गर्ने तयारी गरेको उल्लेख गरे । उनले यसको सुरुवात २०५५ सालमा मोरङ जिल्ला कार्यसमितिले गरेको बताए ।
कार्यक्रमको विशेष अतिथिका रुपमा नेपाल निजामती कर्मचारी संगठनका सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष दुर्गा प्रसाद ढुंगेल रहेका थिए ।
कार्यक्रममा जिल्ला कोषाध्यक्ष राजन भुजेलले संविधानले दिएको अधिकार प्रयोग गर्दै निजामती कर्मचारी संगठनले कर्मचारीहरूको हक र हितको संरक्षणका लागि सशक्त रूपमा आवाज उठाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
यसका साथै नेपाल निजामती कर्मचारी संगठन सिन्धुपाल्चोक जिल्ला कार्य समितिको बैठक आजै बसेको थियो । उक्त बैठकले संगठन सदस्यहरूका लागि यथाशीघ्र प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, संगठन सदस्यहरूको नवीकरण कार्य तीव्र बनाउने तथा नयाँ सदस्य संख्या वृद्धि गर्ने एवं संगठन सुदृढीकरणसँग सम्बन्धित अन्य विविध विषयहरूमा छलफल गरी निर्णय पारित गर्ने निर्णय गरेको छ ।


