काठमाडौं । अख्तियार दुरुपयोग आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आज उनीहरुसरिुद्ध दुई करोड ९३ लाख राजश्व हिनामिनाको अभियोग मुद्दा दायर गरेको हो ।
आयोगले ठूलो परिमाणमा राजस्व हिनामिना गरेको अभियोगमा पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित सो प्रकरणमा संलग्न कर्मचारीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा रजिस्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिस्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि तीसँग सम्बन्धित राजस्व रसिदहरूको तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको भेटिएको हो ।


