काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् ।
प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ कार्यक्रममा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
‘नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ,’ उनले भने, ‘नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग प्रदान गर्नुभएकोमा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’
उनले विकास, व्यापार, लगानी, जलवायु कार्य तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिए ।


