काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ । बुधबार बसेको अनुशासन समितिको वैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै ती नेताहरूसँग स्पष्टीकरण मागेको हो ।
स्पष्टीकरण सोधिएकामध्ये लुम्बिनी प्रदेशका वन मन्त्री तथा महासमिति सदस्य देवकरण प्रसाद कलवार (सन्तु), कोशी प्रदेशका पूर्व केन्द्रीय सदस्य तथा मन्त्री प्रदिप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने रहेका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश सभा सदस्य राजु खनाल, मधेश प्रदेशका प्रदेश सांसद जंगीलाल राय, सकुन्ती देवी महरा र कौशल किशोर रायलाई पनि स्पष्टीकरण सोधिएको छ।


