काठमाडौं । बिहीबार अपराह्न पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर मोबाइल फोनको अनुचित प्रयोग नगर्ने शर्तमा राति रिहा भएका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कपनस्थित घरबाट पक्राउ गरेको थियो । प्रहरी हिरासतमा ७ घण्टा राखेर सोधपुछपछि रिहा भएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेको थियो । सचिव पुष्करले प्रधानमन्त्री बालेन शाहलाई राजदूत बनाउन आग्रह गर्दै एक म्यासेज पठाएका थिए ।
सरकारका उच्चपदस्थ कर्मचारीहरु प्रभावशाली नेताहरुसँग सिधै पहुँच पुर्याएर अवकासपछि राजदूत वा संवैधानिक निकाय जस्ता विभिन्न आकर्षक लाभका पदमा राजनीतिकरुपमा नियुक्त हुने गरेका छन् । अहिलेको सरकारले विगतका सरकारका भएका राजनीतिक नियुक्तिहरु खारेज गर्दै पदपूर्तिको प्रक्रिया अघि बढाएको छ ।


