काठमाडौं । कर्मचारी र भू–माफियाको साँठगाँठमा काठमाडौंको गुठी जग्गा रैकर बनाएर बेचबिखन गरेको अभियोगमा अख्तियारले २७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
साबिक साङ्ला गाविस–९ (हाल टोखा) स्थित कित्ता नं. १४९, १५४, १५५ र १५७ को निजी गुठीको जग्गालाई भू–माफिया र कर्मचारीको मिलेमतोमा रैकर (निजी) बनाई व्यक्ति विशेषको नाममा दर्ता गरेको अनुसन्धानबाट खुलेसँगै शुक्रबार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निजी गुठीको जग्गालाई रैकरमा परिणत गर्ने कार्यमा मालपोत कार्यालय टोखा सरस्वतीका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनाल, तत्कालीन नायब सुब्बा रामप्रसाद शर्मा ढकाल, कम्प्युटर अपरेटरहरू जयराम खत्री, नाजोराम भगत र जानुका सापकोटा, तत्कालीन नासु कृष्ण प्रसाद पोखरेल, तत्कालीन खरिदार रुद्र प्रसाद आचार्य र मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार सूर्यराज पोखरेलको संलग्नता रहेको भन्दै भ्रष्टाचारमा सजायका लागि प्रतिबादी बनाइएको छ ।


