काठमाडौँ । लामो समयदेखि बिना स्विकृति कार्यालयमा अनुपस्थित रहँदै आएका स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई अनुपस्थित रहेका ती कर्मचारीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गरेको छ। सूचनामा उल्लेख भए अनुसार चित्तबुझ्दो कारण नभएमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१)बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय हुन सक्ने चेतावनी दिइएको छ।
उक्त कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगन्ज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत कर्मचारीहरू रहेका छन्।


