काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका आठ कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले बुधबार फार्मेसी शाखामा कार्यरत कर्मचारीहरूले औषधि आपूर्तिकर्तासँग साँठगाँठ गरी अस्पतालमा औषधिको आपूर्ति नभइ बिल बिजक सफ्टवेयरमा इन्ट्री गरी ठूलो रकम भ्रष्टाचार गरेको, अस्पतालको स्टोर शाखा र भर्याङ्गमा करोडौँ औषधि म्याद गुज्रेर फालिएको अवस्थामा रहेको र कम्प्युटरमा स्टक देखाएको औषधि यथार्थमा मौज्दात नरहेको भन्ने उजुरीको आधारमा अनुसन्धान गरी मुद्दा दायर गरेको हो ।
मुद्दा दायर हुनेहरूमा फार्मेसी युनिट इन्चार्जहरू दीपा ढुङ्गाना, रविन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा, विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने तथा फार्मेसी सहायक सन्दीप तिवारी रहेका छन् ।
उाीहरुविरुद्ध करिब २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ ३७ पैसा बराबरको सार्वजनिक सम्पत्ति हानी–नोक्सानी पुर्याएको अख्तियारको आरोप छ ।


