काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् ।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको बृहत् बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
कानुनले दिएको निकास नखोजेर सरकार आफैले समस्या सिर्जना गरिरहेको उनले बताए। ‘सरकार हरेक नागरिकको अभिभावक र संरक्षक बन्न सक्नु पर्नेमा मानव जीवनको रक्षाबाट विमुख र करुणाविहीन भएको छ,’ उनले भने।
उनले सरकारको आलोचना गर्नुपर्ने ठाउँमा कांग्रेसले गर्ने बताए । उनले थपे, ‘आज मेरो घर अगाडि गाडी राखेको होइन, त्यो मेरो मुख थुन्न खोजेको हो । यो किनभने त्यो तर्साहट हो। प्रश्न गरिस् भने खबरदार भनेर तर्साएको, किनकि त्यहाँ कोही नागरिक आएकै थिएन। त्यो गाडी राख्ने मान्छे गाडी राखेर प्रशासनकै गाडी चढेर गएको छ। तर मैले बिना मुद्दा त सरकारलाई भन्नै पर्छ।’


