काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका काम कारबाहीमाथि रोक लगाएको छ । यसअघि आयोगले सर्वोच्चबाट जारी भएको अन्तरिम आदेशपछि पूर्वन्यायाधीश, सेना र अख्तियारको छानबिनभित्र नपर्नेबाहेक अरूको हकमा सम्पत्ति छानबिन जारी राख्ने सूचना प्रकाशित गरेको थियो ।
आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरम नेपालको अध्यक्ष एवं सर्वोच्च अदालतबाट सेवानिवृत्त न्यायाधीश टोपबहादुर सिंह ठकुरी र लिगल इनोभेसन एण्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्नाभिन्नै रुपमा रिट दायर गरेका थिए ।
सरकारले पहिलो चरणमा २०६२/०६३ देखि २०८२/८३ सम्म सार्वजनिक पदधारण गरेका र उक्त अवधिमा बहाल रही जुनसुकै किसिमले सेवाबाट अवकाश भएका राजनीतिक पदाधिकारी, कर्मचारी तथा निजहरूका परिवारसमेतका नामका सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ।


