काठमाडौं । पक्राउ पुर्जी जारी भएका पूर्व मुख्यसचिव एकनारायण अर्याल फरार भएका छन् । उनलाई रोजगारीका लागि मलेसिया जाने नेपालीमाथि ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको हो ।
‘हाम्रो टोलीले उहाँलाई खोजिरहेको छ, तर उहाँ भागेर देशबाहिर जानुभएको भन्ने सूचना पाएका छौँ’, सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि ठगी र त्यसबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव, सचिव विनोद केसीसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । उक्त कार्यकालमा पूर्वमुख्यसचिव अर्याल श्रम सचिव थिए ।

