काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा तत्काल अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
कार्कीले आफूलाई तत्काल पुनरबहाली गर्न अन्तरिम आदेश समेत माग गरेका छन्। उनको माग अनुसार आदेश किन जारी हुनु नपर्ने हो ? भन्दै त्यसको कारणसहित १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश छ।
अन्तरिम आदेश माग गरिएको सम्बन्धमा आदेशमा भनिएको छ, ‘यस सम्बन्धमा दुवै पक्षलाई राखी यस सम्बन्धी निर्णय समेत अध्ययन गरी सो सम्बन्धमा आदेश गर्नु पर्ने देखिँदा सो प्रयोजनका लागि २०८३ मंसिर ७ गतेलाई पेशी तारिख तोकी सोको जानकारी विपक्षीहरुलाई दिई यस सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ को निर्णयको प्रमाणित प्रतिलिपि र यस सम्बन्धी अन्य कुनै कागजात फायल भए महान्यायाधिवक्ताको कार्यालय मार्फत झिकाउनू।’
रिटलाई अग्राधिकार दिन पनि आदेशमा भनिएको छ।

