काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलमध्ये सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शनिबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
प्रदेश प्रमुख कर्णले बहुमतको सरकार गठनको लागि दाबी पेस गर्न दिएको समयसीमा भित्र कुनै पनि दलले दाबी पेस नगरेपछि यादवलाई दोस्रोपटक मुख्यमन्त्री बन्ने अवसर आएको हो।
सबैभन्दा ठूलो दलको नेताको रूपमा दोस्रोपटक मुख्यमन्त्री मुख्यमन्त्रीमा शपथ लिए पनि यादवले एक महिनाभित्र प्रदेशसभाबाट बहुमत सिद्ध गर्नुपर्ने हुन्छ। यदि उनले एक महिनाभित्र बहुमत सिद्ध गर्न नसके पदमुक्त हुने संवैधानिक व्यवस्था छ।
मधेस प्रदेशसभामा जसपाका २७ सांसद छन्।
१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न बहुमत अर्थात् ५४ सांसदको समर्थन आवश्यक पर्छ।
मधेस प्रदेशसभामा दोस्रो ठूलो दल नेकपा एमालेका २३ सांसद छन्। त्यसैगरी, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। साथै संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक(एक जना सांसद छन्।

