काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज सबै प्रदेशमा वर्षा, चट्याङ, बाढी, पहिरो सम्भावना रहेको जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला ९ कोशी, बागमती र गण्डकीका थोरै भूभाग तथा मधेशको पूर्वी भूभागका एकरदुई स्थानमा वर्षा भइरहेको छ।
‘कोशी र मधेशको पूर्वी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा भएको छ’, उनले भने, ‘पछिल्लो ३ घण्टामा १०३, १२८ मिलिमिटरसम्म वर्षा भएको छ।’
बागमती प्रदेशअन्तर्गत तत्काल काठमाडौं उपत्यकामा भने पानी नपरेको उनले बताए। ‘तर उपत्यका आसपास सिन्धुपाल्चोक, दोलखातिर भने वर्षा भइरहेको छ’, मौसमविद् झाले भने। दिउँसो भने काठमाडौं उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी पनि उनले दिए। मौसम महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।


