सिन्धुपाल्चोक जिल्ला उद्योग वाणिज्य संघको आगामी चैत ९ र १० गते हुने ११ औ अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका युवा उद्यमी सुमन खत्रीसँग गरिएको कुराकानीको मुख्य अंशः
अध्यक्षमा तपाइँको उम्मेदवारी किन ?
अहिलेसम्म नेतृत्वमा पुगेकाहरुले उद्योगी र ब्यापारीहरुको हक र हितका लागि समन्वयात्मक तरिकारले जसरी काम गर्नुपथ्र्यो त्यसो हुन सकेन भन्ने मेरो ठम्याई हो । व्यवसायी सरकारबीच साँघुको रुपमा काम गर्नुपर्ने भूमिका भएको संघको नेतृत्वमा गएर काम गरेर परिणाम देखाउन सक्छु भन्ने दृढ निश्चय गरेर स्पष्ट भिजन र कार्ययोजनाका साथ मैले उम्मेदवारीको घोषणा गरेको हुँ । म आफैं उद्यमी पनि हुँ । उद्यम र रोजगारी कसरी सिर्जना गर्न सकिन्छ भन्ने मलाई राम्रोसँग अनुभव छ ।
सारमा भन्ने हो भने, सिन्धुपाल्चोक जिल्लालाई नेपाल र चाइनाबीचको व्यापारिक हबका रुपमा विकास गर्न, जिल्लामा नै साना, मझौला तथा ठुला उद्यम गर्ने वातावरण निर्माण गर्न, विद्यमान सरकारी निकाय र उद्यमी ब्यावसायीबीचको अविश्वास हटाउन,ओरालो लागेको अर्थतन्त्रको सुधार गर्न उद्यम र उद्यमीको दीर्घक़ालीन हितका लागि काम गर्न, नेपालबाट थर्ड कण्ट्रीबीच हूने व्यापारलाई सहजीकरण गर्नमा भूमिका निर्वाह गर्नकै लागि मैले उम्मेदवारी घोषणा गरेको हुँ ।
अध्यक्षमा आफूलाई योग्य मान्नुहुन्छ ? तपाइँका चुनावी विशेष एजेण्डाहरु के –के हुन् ?
अध्यक्ष पदमा म आफूलाई सबैभन्दा सक्षम, अब्बल र योग्य ठान्छु । यो एक्काइसौं शताब्दी हो । अहिले प्रविधिलाई प्रयोग गरेर काम लिने समय हो । अहिलेसम्म उम्मेदावारी घोषणा गरेकाभन्दा म सानो उमेरको भएर पनि तपाइँले यस्तो प्रश्न गर्नुभएको हुनसक्छ । ठानेर सुझबुभपूर्ण किसिमले नै निर्वाचनमा होमिने निर्णय गरेको हुँ । यसका लागि पनि मैलै मतदाताहरुसमक्ष निम्न कुराहरुको उठान गरेको छु,
–उद्यमी र उद्यमको विकासमा अहोरात्र खटिनेछु,
–अनावश्यक प्रचारबाजी भन्दा परिणाम देखिनेगरी काम गर्नेछु,
–आफ्नो र पराईभन्दा योग्यता र क्षमतालाई ध्यान दिनेछु सामूहिक रुपमा अगाडि बढ्न प्रतिवद्ध छु,
–उद्यमीबीचको एकतता नै आजको आवश्यकता भन्ने मूल मर्म बुझेर मात्रै अगाडि बढ्नेछु,
–देश विकासमा युवाको भूमिका अति आवश्यक छ भन्ने बुझाएर जिल्लामा उद्यमको विकास गर्न सामूहिकतामा जोड दिनेछु,
–उद्योग वाणिज्य संघलाई नाम अनुसारको काम गरेरै देखाउने प्रण गरेको छु
–कुनै पनि ब्यक्ति दलीय हिसाबमा स्वतन्त्र भए पनि संस्थामा आवद्ध भइसकेपछि दलभन्दा माथि उठेर उद्योगी ब्यावसायीहरुको सामूहिक हितका खातिर सँधै लागिरहनेछु,
–संस्थाको गतिविधिलाई “उद्यमी र उद्योग” को हितमा सदुपयोग गर्नेछु
सिन्धु उद्योग वाणिज्य संघले समग्र जिल्लालाई समेट्न नसकेको भन्ने आरोप छ नि के यसमा सत्यता छ ?
यस आरोपमा केही सत्यता छ । पछिल्लो समय संघ भनेकै बाह्रबिसे र तातोपानी नाकामा ब्यावसाय गर्नेहरुको लागि मात्रै हो भन्ने मनोभावना छ । यसअघिका नेतृत्वहरुले पनि यसलाई चिर्न खासै केही गरेनन् । त्यही भएर नै मैले सुरुमा नै समग्र जिल्लावासी ब्यावसायीहरु भनेको हुँ । भूगोल र क्षेत्रभन्दा पनि समग्र जिल्लाभरिकै ब्यावसायीहरुप्रति समान रुपले ब्यवहार गरिनुपर्छ
अन्त्यमा थप केही भन्नुहुन्छ कि ?
अब युवाको पालो हो । यसैलाई आधार मानेर नै मैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको हुँ । म साँच्चिकै यस संघलाई कामकाजी र परिणाम देखाउने स्पष्ट भिजन, र कार्ययोजना लिएर आएको छु । मलाई मत दिने मतदाताहरुको विश्वास र भरोसालाई कदापि पनि मर्न नदिने वाचा गर्दछु ।


