काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा अनिधिकृत रुपमा परिवर्तन गरिनु सामान्य घटना नभएको बताएका छन्।
नेता कोइरालाले आज सामाजिक सञ्जालमार्फत् ‘कुलिङ अफ पिरियड’का सम्बन्धमा गरिएको अनधिकृत परिवर्तन घोर अपराध र सार्वभौम संसद्प्रतिको अपमान भएको बताएका हुन्।
आइतबार प्रतिनिधिसभाबाट पारित विधेयकमा निजामती सेवाबाट अवकाश पाएको कर्मचारीले कम्तीमा दुई वर्षसम्म अर्को कुनै नियुक्ति लिन नपाइने प्रावधान राखिएको थियो। तर त्यो प्रावधानलाई निष्प्रभावी बनाउने गरि त्यसमा ‘बाहेक’ भन्ने शब्द घुसाइएपछि अहिले त्यसले चौतर्फी बहस सिर्जना गरेको छ।


