तातोपानी । नेपाली कांग्रेस भोटेकोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदमा उम्मेदवारी दिएका कुमार श्रेष्ठ कांग्रेसका युवा नेता तथा समाजसेवीका रुपमा स्थानीय स्तरमा लोकप्रिय ब्यक्ति हुन् । उनले २०७२ साल बैशाख १२ गते आएको महाभूकम्पको बेला सिन्धुपाल्चोक जिल्लाको १२ वटा गाविसका जनतालाई भक्तपुर जिल्लाको निलबाराही बोडेमा अस्थायी शिविर सञ्चालन गरेर आश्रय दिए बापत देश तथा बिदेशमा समेत लोकप्रिय भएका थिए ।
नेपाल र चीनबीचको पहिलो स्थल ब्यापारिक नाका तातोपानी नाका यसै वडामा पर्ने भएकाले पनि यस वडाको विशेष महत्व रहेको छ । देश प्रदेश र पालिका तहको संरचनामा गएपछि स्थानीय जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले पनि आफ्नै जन्मभूमिमा केही गरेर देखाऔं भन्ने उदेश्य राखेर नै आफू राजनीतिमा आएको उनले बताए ।
पछिल्लो समय राजनीति कमाइ खाने भाँडो बन्दै गएको भन्दै उनले आफूले राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा लिएको बताए । अध्यक्षका उम्मेदवार श्रेष्ठले उम्मेदवारी दिएसँगै आफ्नो ५ वर्षे योजना अघि सारेका छन् ।
उनले यस वडाको समृद्धि र विकासका लागि आफ् दिनरात खटेर काम गर्ने वाचा गर्दै वडाको चौतर्फी विकास समृद्धिका लागि पर्यटन, नेपाल चीन नाकामा छोटी भंसारको स्थापना ऐतिहासिक धार्मिक स्थलको समुचित विकास, रीतिरिवाज तथा धर्म संस्कृतिको प्रबद्धन गर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, कृषिलाई आधुकिनीकरण गर्ने, खेलकुदको विकास गर्ने, मूल सडकदेखि ग्रामिण क्षेत्रमा जाने सडकको स्तरोन्नति गर्ने, भूकम्प र निरन्तरको बाढीपहिरोले क्षतिग्रस्त पारेका संरचनाको पुननिर्माण गर्ने शिक्षा र स्वास्थ्यलाई सहज सुलभ र प्रविधिमैत्री बनाउने लक्ष्य निर्धारण गरेका उनको भावी कार्ययोजना तथा प्रतिवद्धता यस्तो छ :
पर्यटन : यस वडालाई छिटै समृद्ध बनाउन सक्ने भनेको नै यहाँको पर्यटन हो । यहाँ रहेका विशेष पर्यटकीय स्थलहरु तातोपानी धारा, भैरवकुण्ड ताल, कोदारी गुम्बा, कोदारी झरना, कपिलेश्वर महादेब शिब मन्दिर, नादुङ वन, मितेरी नाकालाई ब्यवस्थित गर्न मैले खाका तयार गरेको छु । तातोपानी धारा नेपालभरि नै प्रख्यात भएको स्थल हो । यहाँको प्राकृतिक सुन्दरताको शब्दमा बर्णन नै गर्न सकिँदैन । यो धार्मिक आस्थासँग पनि जोडिएको स्थल हो । यहाँको तातोपानीमा स्नान गरेमा विभिन्न प्रकारका चर्मरोगका साथै अन्य रोगहरु निमूर्ल हुने विश्वास गरिन्छ । यहाँ देश तथा विदेशबाट समेत विशेष गरी कात्तिक र चैत महिनामा ठूलो मेला नै लाग्ने गरेको छ । यसलाई अझ ब्यापक प्रचार प्रसार गर्ने र धारालाई अझै ब्यवस्थित गरेर धेरैभन्दा धेरै बाह्य तथा आन्तरिक पर्यटकहरु ल्याउने मेरो योजना छ । यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनेछ । प्रसिद्ध रुपमा रहेको कोदारी गुम्बालाई आकर्षकको केन्द्र बनाउने योजना छ । भैरवकुण्ड ताल नेपालको प्रख्यात मध्यमा पर्ने पौराणिक स्थल हो । अरनिको मूल सडकबाट त्यस पोखरीसम्म जानको लागि सडकमार्गको विकास गर्न आवश्यक छ । बाकी रहेको ट्रयाक खोल्ने तथा सडकको स्तरोन्नति गर्ने कार्यलाई थप तिब्रता दिने योजना छ । तातोपानी बजार नजिकै जिपलाइन तथा स्काई साइक्लिङ जस्ता मनोरञ्जान्तमक तथा साहसिक खेल निर्माण गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ ।
तातोपानी नाकालाई पूर्ण रुपमा सञ्चालन गर्न तत्कालै पहलकदमी गर्ने : हुन त नेपाल र चीनबीचको यस ऐहिासिक नाकालाई वडा तहले निर्णयक तहको काम गर्न सक्दैन तापनि आफ्नो तर्फबाट सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भूकम्प तथा बाढीपहिराले क्षतिग्रस्त गरेको यस क्षेत्रमा झोले पोके ब्यापार गरेर जिविकोपार्जन गर्न स्थानीयलाई सहयोग गर्ने । यस भेगमा कृषियोग्य जमिन नभएकाले पनि उनीहरुले अरु पेशा गरेर जीवन चलाउन धेरै नै कठिन छ । छोटी भन्सार कार्यालय स्थापना गरेर स्थानीय बासीलाई ब्यापार ब्यवसाय गर्न पहल गर्ने ।
शिक्षा र स्वास्थ्य : शैक्षिक गुणस्तर वृद्धि गर्न यस वडामा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर, प्रोजेक्टर र इबोर्ड जस्ता प्रविधिमा शिक्षण गराउने, साना दिद्यार्थीलाई मन्टेश्वरी प्रविधिमा शिक्षण गराउने, दक्ष र तालिम प्राप्त शिक्षकको थप प्रवन्ध गर्ने तथा पुराना शिक्षक शिक्षिकालाई तालिमको ब्यवस्था गरेर दक्ष र क्षमतावान बनाउने, र १२ कक्षा उत्तीर्ण गरेकाहरुलाई सरकारी सेवामा जान प्रेरित गर्न कोचिङ कक्षा सञ्चालन गर्ने योजना छ भने स्वास्थ्य क्षेत्रमा पनि केही काम गर्नैपर्ने छ । हाल कायम रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर कम्तिमा पनि १० शैयाको अस्पताल बनाउने, अनुभवि डाक्टरहरुको ब्यवस्था गर्ने, प्रसूति सेवा निशुल्क उपलब्ध गराउने , सर्वसुलभ एम्बुलेन्सको ब्यबस्था गर्ने योजना छ ।
कृषिको विकास : यस वडामा कृषियोग्य जमिनको अभाव रहेको छ । भएका पनि निर्वाहमुखी मात्रै छ । दुई महिना काम गरेर १० महिना त्यत्तिकै बस्नुपर्ने बाध्यता छ । यसमा भन्दा नगदे वालीलाई प्रोत्साहन गर्न आवश्यक छ ।
सडक स्तरोन्नति तथा विस्तार : यस वडाका बजार क्षेत्र अरनिको राजमार्गमा भएकाले वडाले मात्रै चाहेर काम हुन सक्दैन त्यसका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर सडक ब्यवस्थित गर्ने तथा मूल सडकबाट ग्रामिण भेगमा जाने सडकहरुको स्तरोन्नति गर्न आवश्यक छ । यसमा मुख्यगरी भैरवकुण्ड तालसम्म बाटो लान सक्रियता देखाउने, कोदारीदेखि लालवीर चोक हुँदै थामीगाउँ –नादुङ –नयुसीपाखा जाने सडक सुधार गर्ने काम मेरो प्राथमिकतामा रहेको छ ।
बाढीपहिरो रोकथाम : भूकम्प र त्यसपछिका वर्षमा गएको बाढीपहिरोका कारण यस वडामा धेरै नै क्षति भएको छ । सडक भासिएका छन् । लिपिङ बजार, कोदारी, तातापानी क्षेत्रमा समग्र मानव वस्ती नै भग्नावशेषमा परिणत भएको छ यसमा काम गर्नुछ । पहिरो क्षति गरेको ताक्पासा गाउँको वस्ती नै स्थानान्तरण गर्नुपर्ने छ ।
खेलकुद : खेलकुद स्वस्थ्य जीवनको लागि अति नै आवश्यक कुरा हो । खेलले मानिसलाई धेरै नै फाइदा गर्नछ । यसको लागि स्थानीय क्लबहरुलाई सक्रिय बनाउने, १० किलोमा रहेको मैदानलाई खेलकुद मैदान बनाउने , वडामा रहेका विद्यालय तथा क्लबहरुबीच मैत्रीपूर्ण खेलकुदहरु आयोजना गर्ने त्यसको लागि बजेटको ब्यवस्था गर्ने मेरो योजना छ ।
यसका साथै यस वडामा विभिन्न जातजाति धर्म संप्रदायका मानिसहरुको बसोबास भएकोले उनीहरुको आफ्नो परम्परा र रीतिअनुसारका सांस्कृतिक चाडपर्वलाई यथासक्य सहयोग गर्ने, मठ, मन्दिर चैत्य गुम्बाहरुको संरक्षण र सम्बद्र्धन गर्ने सामुदायिक भवनहरु बनाउने, यस भेगमा सञ्चार प्रविधिमा बारम्बार समस्या आइरहने भएकाले टेलिफोनका टावरहरु थप गर्नेपर्ने कामलाई मैले पाँच वर्षे कार्यकालयमा प्राथमिकता निर्धारण गरेर काम गर्ने स्पष्ट खाका बनाएको छु ।


