काठमाडौं । नेपाल समाजवादी कांग्रेसले प्रजातन्त्र दिवस मनाउनुको सान्दर्भिकता नभएको जनाएको छ । पार्टी अध्यक्ष गोविन्द निरौलाले वास्तविक रुपमा अझै पनि प्रजातन्त्र नआएको बताए ।
उनले २००७ साल फाल्गुण ७ गते प्रजातन्त्र घोषणामात्र गरिएको भन्दै त्यसमा असन्तुष्टि जनाए । उनले अझै पनि जनताले गाँस, बास र कपास नपाएको भन्दै सरकार र अन्य प्रमुख राजनीतिक दलहरुले जनतालाई सधैं ढाँटिरहेको आरोप लगाए । उनले पूर्वराजा बीरेन्द्र प्रजातन्त्रवादी राजा भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रको सट्टा उनका नातीलाई राजसंस्था चलाउने जिम्मेवारी दिनुपर्ने बताए । उनले यो अभियानमा लाग्नसमेत सबैलाई आग्रह गरेका छन् ।
निरौलाले जातजातिको आधारमा विभिन्न बहाना गर्दै देश विभाजनको संघारमा पुगेको बताए । ‘२०७२ सालमा जारी भएको संविधान देशको हितमा छैन, यो संविधान अहिले नै खारेज गर्नुपर्छ’ उनले भने ‘हामी नयाँ संविधान जारी गर्छौ, अहिले लेखन कार्य भइरहेको छ, त्यो संविधानमात्र सबैको साझा बन्न सक्छ ।’ उनले उद्योग, उत्पादन र वितरणलाई ध्वस्त पारेर समृद्ध नेपालको परिकल्पना गर्न सकिँदैन भन्दै उनले थपे ‘शासकहरु सबै भ्रष्टाचारमा ल्प्ति छन्, वाइडबडी, एनसेलको अरबौ पैसा उनीहरुले पचाएका छन् ।’ विभिन्न चाडपर्व र अवसरमा कहिले शुभकामना सन्देश दिँदै त कहिले विज्ञप्ती निकाल्दै पार्टीले देश र जनताको पक्षमा चिन्ता व्यक्त गर्दै आएको छ ।


