काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आत्मदाह गरेर मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यका टुहुरा छोरीहरुको पठनपाठन र उनकी श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता गरेका छन् ।
उनले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै अहिले आफू आफ्नो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक –२ का विभिन्न विद्यालयहरुको वार्षिकोत्सब तथा ल्होछार विशेष कार्यक्रममा ब्यस्त भएकाले स्वर्गीय आचार्यका परिवार र आफन्तजनलाई प्रत्यक्ष भेट्न नसकेको भन्दै यथासिघ्र भेट्ने प्रतिवद्धता गरेका छन् । उनले आफू जनताको काम गर्नकै लागि राजनीतिमा लागेकाले यस्तो असह्य पीडामा रहेकाहरुलाई आफूले विगतका दिनमा समेत सहयोग गर्दै आएका उल्लेख गरेका छन् ।
बस्नेतले मृतक आचार्यको पारिवारिक परिदृष्य र अहिलेका गृहमन्त्री रवि लामिछानेले पीडित परिवार र आफन्तहरुसँगको भेटका क्रममा छोरीहरुको पठनपाठनका बारे परिवारले गरेको आग्रहलाई बेवास्था गरेको भिडियो सामग्रीलाई मध्यनजर गर्दै आफू आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
नेता बस्नेतले जनतालाई आइपर्ने पीडा र आपतत्तिमा सहयोग गर्ने आफ्नो आदत भइसकेको बताउँदै विगतका दिनमा आइपरेका कोरोना महामारी, बाढीपहिरो, भूकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा पनि आफूले गरेको सहयोग सबैलाई अवगत नै भएको उल्लेख गरेका छन् ।
बस्नेतले नेपालको वर्तमान परिप्रेक्षका एक प्रतिनिधि पात्र एवम् पीडित व्यवसायी प्रेम आचार्यले संघीय संसद् भवन अगाडि कारुणिक रुपमा आत्मदाहको प्रयास गर्नु एक दुःखद् घटनासँगै जनजिविकाका हरेक आयामहरुमा जिम्मेवार हुन सबैलाई सुसूचित गराएको समेत उल्लेख गरेका छन् ।
बस्नेत अहिले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।


