काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् । रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् ।
तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।
‘सबै दललाई, सामाजिक संघसंस्थालाई मेरो आग्रह छ, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन’, उनले भने ।
पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तराष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने बताए ।
‘विकासप्रति हाम्रो दृष्टिकोण रुपनदेहीवासीले बुझेका छन्, केही योजनामा निर्माणमा विलम्ब भएको छ, तर कानूनी र प्रशासनिक जटिलता समाधान गरेर बजेटको प्रबन्ध भएकाले अब ढिलाइ गर्ने छुट कसैलाई छैन’, पौडेलले भने ।