काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीको सरकार गिराउनेसँग निर्वाचनमा कुनै हालतमा गठबन्धन नगर्ने बताएका छन् ।
नेता पोखरेलले सोमबार प्रेस चौतारी नेपाल चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले भने, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदैन ।’ उनले भने, ‘नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन एकदम प्रष्ट हुनुस् ।’
एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय आवश्यकता अनुसार स्थानीय तहमा भने कसैसँग तालमेल हुन सक्ने बताए । यस्तो २०४८ सालदेखिकै अभ्यास भएको बताउँदै उनले भने, ‘तर हामी गठबन्धनको हिसाबले जान्नौं ।’