काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी साइट बन्द गर्ने भएको छ । अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवाले अर्थतन्त्रमा जोखिम निम्ताएको भन्दै प्राधिकरणले यस्ता साइट बन्द गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंक, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा प्राधिकरणले क्रिप्टोकरेन्सीको साइट बन्द गराउन लागेको हो। प्रविधिको उपयोग गरी त्यस्ता गैरकानुनी साइट बन्द गराउन लागिएको प्राधिकरणले जनाएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जिम्मेवार निकायको आग्रहमा गैरकानुनी साइट बन्द गर्न लागिएको बताए। ‘गैरकानुनी साइट नेपालमा नचल्ने बनाउन सक्छौं, कतिपय बन्द भइसकेका छन्,’ उनले भने, ‘नयाँ नयाँ खुल्ने साइटहरू पनि सूचनाका आधारमा बन्द गराउँदै जान्छौं।’ सीआईबी, राष्ट्रबैंकले भनेका आधारमा साइट बन्द गराउने उनले बताए।


