काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आज दिउँसो १ बजे च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।
अहिलेको सत्ता गठबन्धनसँग एक्लै लड्न तयार भएको एमालेले घोषणापत्रमा के कस्ता कुरा समेटिने हुन् त्यसमा सबैको चासोको विषय बनेको छ । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।
घोषणापत्रलाई निर्वाचनमा महत्वपूर्ण मानिन्छ, जहाँ दलको प्रतिबद्धतासँगै पाँच वर्षे नीति तथा कार्यक्रमको स्पष्ट खाका हुन्छ ।