काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको नक्सा तथा अन्य सामरिक र राष्ट्रिय महत्वका दस्तावेजहरुको सक्कल प्रति सरकारसँगै नरहेको खुलासा गरेका छन्।
नेपाल तथा एसियाली अध्ययन केन्द्र सिनासले शनिबार गरेको कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले नेपालको नक्सा, सन् १९५० को नेपाल–भारत मैत्री सन्धिसहितका महत्वपूर्ण दस्तावेजको सक्कल प्रति नै सरकारसँग नरहेको बताएका हुन्।
यस्ता दस्तावेज गायब हुनुले हाम्रो राष्ट्रिय चरित्रको खुकुलोपन छताछुल्ल भएको भन्दै उनले दुःख व्यक्त गरे। नेपालबाट चोरिएका वा गायब पारिएका ऐतिहासिक महत्वका सामग्री फिर्ता ल्याउन पहल गर्ने पनि उनले बताए।
आफूले मन्त्रालयलको जिम्मेवारी सम्हालेको दुई महिना पनि नपुगेकाले नीतिगत विषयमा सार्वजनिक रुपमा टिप्पणी गर्नुभन्दा अध्ययनमा लागेको उनको भनाइ छ। तर परराष्ट्र नीतिको निर्माण तथा सञ्चालन राष्ट्रिय सहमतिबाट हुनुपर्ने आफ्नो मत रहेको बताए।
‘नेपाल एक प्राचीन मुलुकमात्रै होइन, उसले युद्ध, शान्ति, सम्झौता, सहमति र सन्धि जस्ता महत्वपूर्ण भोगाइ समेटेको छ। इतिहासको त्यो अनुभवबाट नेपालले धेरै कुरा हासिल गरेको छ’, उनले भने।
केन्द्रद्वारा आयोजित कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा एमाले नेता प्रदीप ज्ञवाली, माओवादीका विदेश मामिला प्रमुख राम कार्की, अमेरिकाका लागि प्रस्तावित राजदूत प्रा. श्रीधर खत्रीसहितले नेपालको परराष्ट्र नीति र सम्भावनाबारे बोलेका थिए।