काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए ।
शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए।
शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग्न गठबन्धन समन्वय समितिको बैठकमा मन्त्री कार्की सहभागी थिए। त्यसअघि बिहीबार पनि सत्ता गठबन्धनको बैठक बसेको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारदेखि नै भेटघाट बन्द गरेका छन्। यस्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेका छन्।