काठमाडौं । आज बिहान नेपाल बीमा प्राधिकरणले ५५ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ।
प्रभातफेरि काठमाडौंको भद्रकालीबाट सुरु भएर सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्त्वका बारेमा जानकारी गराइ बीमा सेवा पुर्याउनु भएकाले त्यसका लागि सम्बद्ध सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए।
अध्यक्ष सिलवालले भने, ‘पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ। जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुपर्यो, बीमा सेवा उपलब्ध गराउनुपर्यो र सेवा दीगो हुनुपर्यो। कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नुपर्यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्यो।’
अध्यक्ष सिलवालले आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरूलगायत सम्बद्ध सबैबाट साथ र सहयोग निरन्तर प्राप्त भइरहने विश्वास व्यक्त गरे।
प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशीलदेव सुवेदी, निर्देशक पूजन ढुंगेल (अधिकारी), निर्देशक दिनेशकुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनरबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ र पेशागत बीमा अभिकर्ता संघका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो।


