बाह्रबिसे । सोमबार बसेको नेकपा (माओवादी केन्द्र) बाह्रबिसे नगर कमिटीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाह्रविसे नगरपालिकाका लागि मेयर र उपमेयरमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
माओवादी केन्द्रले मेयरमा अगिल्लो निर्वाचनमा समेत उम्मेदवार रहेका बुद्धराज बस्नेतलाई नै यसपालि पनि उम्मेदवार बनाएको छ भने पातली थामीलाई उपमेयरमा सिफारिस गरेको छ ।
बैठकले वडा नम्बर १ को अध्यक्षमा प्रेम मगर, २ मा दिपेन्द्र भण्डारी, ३ मा कपिल पाख्रीन, ५ नम्बर वडामा बुद्धिबहादुर तामाङलाई सर्वसम्मत उम्मेदवारमा सिफारिस गरेको छ भने गणेश बहादुर तामाङलाई वडा नम्बर ६ बाट र ङिमा शेर्पा सोनामलाई वडा नम्बर ७ को अध्यक्षमा उम्मेदवार सिफारिस गरेको छ ।
अन्य वडाहरुमा पनि सकेसम्म सर्वसम्मत रुपमा नै उम्मेदवार सिफारिस गर्ने नगर कमिटीको सचिव विमल राउतले बताए ।
वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुबीच सकेसम्म चुनावी तालमेल गर्ने सहमति भएको छ भने वागमती प्रदेश कमिटीको बैठकले मिल्नेसम्म चुनावी तालमेल गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
मेयरमा सिफारिस भएका बस्नेतले आफ्नो पार्टी विगत दुई महिनादेखि संगठन बिस्तार लागेको बताउँदै अन्य दल त्याग गरेर धेरै ब्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेकाले पनि आफूहरु अगिल्लो निर्वाचनमा भन्दा अहिले थप मजबुद भएको दावीसमेत गरे ।