काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । उसले विभिन्न २० वटा प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।
काठमाडौंमा शुक्रबार कार्यक्रम गरेर लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । लोसपाले सबल, सक्षम र स्रोत सम्पन्न स्थानीय सरकार, सहज, छरितो र प्रभावकारी सेवा प्रवाह, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, महिलामैत्री पूर्वाधार एवम् विशेष सुविधाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।
त्यस्तै कृषिसेवा विस्तार, सिँचाइ एवम् प्रभावकारी बजार व्यवस्थापन, चुरे जोगाऔं, मधेश बचाऔंलगायत प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । निर्वाचनमा भाग लिने प्रायः ठुला दलहरुले यसअघि नै आफना घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।