काठमाडौं । आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहमा आवश्यकताको आधारमा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपछि सत्तासीन दलहरुको बैठक बस्न लागेको हो ।
बैठकमा मुख्यगरी आगामी वैशाख ३० गते गर्ने भनिएको स्थानीय तहको निर्वाचनमा तालमेल के कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ भने प्रधानमन्त्री शेरबहादुर देउवाको भोलिबाट हुने भारत भ्रमणबारे पनि छलफल हुनेछ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले गठबन्धनको बैठक अहिले बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने जानकारी दिइन्।
उनका अनुसार आज बस्ने पाँच दलीय गठबन्धनको बैठकले चुनावी तालमेलका लागि एउटा संयन्त्र बनाउने छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्।