काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच दलीय गठबन्धनको आयु एजेण्डा र आवश्यकताले निर्धारण गर्ने बताएका छन् । उनले आगामी दिनमा हुने तीन तहको निर्वाचन काँग्रेस एक्लै चुनावमा लड्ने या गठबन्धनको सहकार्यमा लड्ने भन्ने टुङ्गो अहिले नै लागि नसकेको पनि प्रष्ट पारेका हुन् ।
विराटनगरमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री शर्माले गठबन्धनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार सहमतिमा टुङ्ग्याएको बताए । ‘आगामी तीन तहको निर्वाचनमा काँग्रेस चुनाव एक्लै लड्ने हो ?’ भनेर सञ्चारकर्मीको राखेको जिज्ञासामा महामन्त्री शर्माले भने, ‘कसैको घरमा पास्नीको निम्तोमा विवाहको शुभकामना दिन मिल्दैन । पाँच दलीय गठबन्धनको सहयात्रा राष्ट्रिय सभा सदस्यको चुनावसम्म अघि बढेको छ। भोलि हुने तिन तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावमा जान्छ या जाँदैन भन्ने बारेमा एजेण्डा र आवश्यकता निर्धारण गर्नेछ ।’
उनले काँग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनको सरकार सफल भएको दाबी गरे । उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका शेरबहादुर देउवालाई सरकारमा काम गर्न थप ऊर्जा मिलेको बताए ।
महामन्त्री शर्माले अहिलेको सरकारले कोरोनाको खोपमा सफलता मिलेको दाबी गरेका छन् । उनले पाँच दलीय गठबन्धनको सरकारको निर्धारण गरेको खोप र चुनाव सम्पन्न गर्ने प्रमुख दायित्वमा दुवै सफल हुँदै गएको दाबी गरे ।