आजबाट नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन सुरु भएको छ । भोलि हुने निर्वाचनमा अध्यक्ष पदका तीन प्रत्यासीहरुले आ आफ्नो प्यानलसहित मनोनयन दर्ता गराएका छन् ।
जिल्लाको सदरमुकाम चौतारामा हुने निर्वाचनमा केन्द्रको भन्दा केही फरक तरिकाले प्यानल बनेको छ । पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको तर्फबाट जंगबहादुर तामाङ प्यालनसहित चुनावी मैदानमा छन् भने अर्का प्रत्यासी बंशलाल तामाङ शेखर कोइराला समूहको समर्थन लिएर आफ्नो प्यानलै लिएर होमिएका छन् ।
यस्तै डा. प्रेमध्वज लामालाई पार्टी उपसभापतिहरु पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा समुहको समर्थन छ । उनी बस्नेत समूहबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका भए पनि जिल्ला अधिवेशनमा अर्कै कित्तामा गएका छन् । जुगलका जंगबहादुर तामाङ यसअघि क्षेत्रीय सभापति थिए भने बंशलाल इन्द्रावती गाउँपालिकाको अध्यक्ष तथा गाउँपालिका महासंघको महासचिवसमेत हुन् ।
लामो समय अमेरिकामा बसेका उनी राजनीति गर्नकै लागि नेपाल फर्किएका थिए । त्यसैगरी डा. प्रेमध्वज लामा पहिला शेरबहादुरकै समुहमा थिए भने अहिले दुई उपसभापति र एक महामन्त्री समूहबाट उम्मेदवारी दिएका छन् । उनी त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकका रुपमा कार्यरत थिए ।
१९४० प्रतिनिधिमध्ये धेरैजसो जिल्ला निर्वाचनमा भाग लिन चौतारा आइसकेका छन् । सबभन्दा रोचक कुरा त के छ भने यस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर समुहबीच नै चुनावी भिडन्त हुँदैछ ।
सबैले आफ्नो जित सुनिश्चित रहेको दावी गरे पनि जंगबहादुर तामाङको सम्भावना बढी रहेको आँकलन गरिएको छ ।