काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ आगामी वैशाख १२ गतेदेखि हुने भएको छ । बुधबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको संयुक्त आयोजनामा आगामी वैशाख १२, १३ र १४ गते काठमाडौंमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
इप्पानले ‘समृद्धिका लागि हरित ऊर्जा’ नारा सहित हिमालयन हाइड्रो एक्स्पो, २०२४ आयोजना गर्न लागेको जनाएको छ । सन् २०३५ सम्मभित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने र २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र सरकारले निर्माण गरेको अवस्थामा यस्तो एक्स्पोले समग्र ऊर्जा क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने अपेक्षा आयोजकको रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले दिगो,समावेशी,हरित,पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी,पुँजी संकलन,व्यवस्थापन लगायत ७ विषयमा अन्तरक्रिया हुने बताए ।


