काठमाडौं । कुमारी बैंक लिमिटेडले सोमबार आफ्नो बाईसौँ वार्षिक साधारणसभामा कोरम संख्यालाई वास्तै नगरी एजेण्डाहरु पास गरेको छ । बैंकको केन्द्रीय कार्यालय नक्सालमा भएको साधारणसभामा शेयरधनी सदस्यहरुले बैंकले प्रस्ताव पास गर्न कोरम नपुगेको जानकारी दिँदासमेत अध्यक्ष अमिर प्रताप राणाले उनीहरुको कुरै नसुनी प्रस्तावहरु पास गराएका हुन् ।
बैंकका कम्पनी सचिवले कम्पनी ऐनको व्यवस्थाअनुसार कोरम संख्या नपुर्याएरै सभा सुरु गरेका थिए । बैंकले संस्थागत शेयर धनीहरुले दिएको प्रोक्सी अनुसार कोरम पुगेको जानकारी गराए पनि प्रोक्सी अनुसार शेयरधनीहरुको उपस्थिति रहेको थिएन ।
सभाले एनसीसी बैंकसँग मर्जरका लागि समेत अनुमति प्रदान गर्दै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा समितिले गरेको कार्यलाई समेत अनुमोदन गरेको छ वार्षिक साधारणसभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १२ः ५० प्रतिशत नगद लाभांश (कर समेत) पास गरेको छ ।
सभामा शेयरधनीहरुले चर्चित गायक योगेश्वर अमात्यको जग्गा किर्ते प्रकरणमा मुछिएका तत्कालीन कायम मुकायम सीइओ अनुजमणि तिमल्सिना र डेपुटी सीइओ मनिष तिमल्सिनालाई बैकले दिएको उपदान फिर्ता हुनु पर्ने मागलाई जोडदार रुपमा उठाएका थिए । बैंकले बार्षिक प्रतिवेदनमा समेत दुबै जनाले गरेको अपराधकर्मको बारेमा स्पष्ट पार्न पर्ने धारणा राखेका थिए ।
बैंकले जग्गा किर्ते प्रकरणमा दुई जनाको संलग्न भएको पाइएपछि बर्खास्त गर्दै उपदान दिएको थियो । सीइओ तिमल्सिनाले १ करोड ८३ लाख ५९ हजार ५ सय ८८ रुपैयाँ र डिसीइओ मनिषले १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ उपदान लिएर बैंकबाट विदा भएका थिए ।


