काठमाडौं । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्।
वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री खगराज अधिकारीले नयाँ सरकार गठन गर्न आह्वान भएको हो। प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन्।
नेपालको संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन्। उक्त उपधाराअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख गुरूङले आह्वान गरेका छन्। एमाले नेतृत्वको अधिकारी सरकार पनि यही धाराअनुसार गठन भएको थियो।
६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ जना भए बहुमत पुग्छ।


