काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले घरको छतबाट खसेर गम्भीर घाइते भएका दिल बहादुर थापाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । उनले मंगलबार बिहान चितवनको पुरानो मेडिकल कलेजमा गएर पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालक थापा सोमबार करिब ४ बजे आफू सुतेको छतबाट खसेका थिए ।
सिन्धुपाल्चोक बाह्रबिसे ३ का स्थायी बासिन्दा थापा निर्वाचन प्रचारप्रसारका लागि रविसँगै चितवनमा थिए । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य रहेका बस्नेतले घाइते थापाको बारेमा उनको उपचारमा संलग्न चिकित्सकसँग छलफल गरेका थिए ।
बस्नेतले घाइते थापाको उपचारमा कुनै कमी हुन नदिन आग्रहसमेत गरेका थिए । चिकित्सकले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि स्वास्थ्यमा सुधार देखिएको बताएका थिए । उनले अस्पतालमा घाइते थापाका परिवारसँग भेट गर्दै उपचारमा आफूले पनि सक्दो सहयोग गर्ने आश्वासन दिए ।
यसैबीच पूर्वमन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लाबाट चितवन बसाइ सरेका जनतालाई आगामी बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जित नारायण श्रेष्ठलाई मतदान गर्न अनुरोध गरेको महाधिवेशन प्रतिनिधि युधीर पौडेलले जानकारी दिए ।


