बाह्रबिसे । ८ वर्षपछि गत भदौ १५ गते सिन्धुपाल्चोकवासीका लागि खुला गरिएको तातोपानी नाकामा बिस्तारै चहलपहल बढ्न थालेको छ ।
२०७२ सालको विनासकारी भूकम्पपछि यस नाकाबाट २०७६ जेठ दोश्रो साताबाट सामान आयात निर्यात खुला भए पनि मान्छे आउजाउ पूर्ण रुपमा बन्द थियो ।
भोटेकोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठले नाका खुला भएको केही दिन प्रवेश पास लिनेहरुको ज्यादै भीड भएको बताए । उनले गाउँपालिकाले सहजीकरणका लागि केही सहयोगी कर्मचारी खटाएको बताए ।श्रेष्ठले हाल सरदर नाकाबाट दैनिक २५० को हाराहारीमा प्रवेश भइरहेको जानकारी दिए । नाकामा आउजाउ खुलेसँगै चिनियाँ पर्यटकहरु पनि नेपाल भित्रिने गरेका छन् । नाका सञ्चालन हुने निश्चित भएसँगै आफ्नो नेतृत्वमा नाका क्षेत्रमा सरसफाई गरेको उनले जानकारी दिए । ‘नाकापारी चिनियाँ ब्यापारीहरुले केही पसल सञ्चालन गरेकाले नेपाली ब्यापारीहरुले दैनिक रुपमा गएर केही सामानहरु ल्याइरहेका छन्’ उनले भने ।

कुनै समय धेरै राजस्व उठाउने नाकाको रुपमा परिचित तातोपानी नाका विनासकारी भूकम्पपछि ठप्पप्रायः थियो । अध्यक्ष श्रेष्ठले चीन प्रवेशका लागि स्वास्थ्य प्रोटोकलको पालनाका काराण वीच्याटबाट मात्रै स्क्यान गर्न मिल्ने भएकाले नेपाल टेलिकम र एनसेलको नेट राम्रोसँग नचल्दा केही समस्या देखा परेको उल्लेख गरे । उनले यस विषयमा आफूले टेलिकमसँग कुरा गरिरहेको बताए ।

यस नाकाको गत शुक्रबार सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा र तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले औपचारिक रुपमा आउजाउ खुला गरेका थिए ।


