काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले आजदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ ।
संगठनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहने प्याव्सकका अध्यक्ष गेन्द्र लामाले बताए । प्रतियोगिता भाटभटेनी फुटसल ग्राउण्डमा गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगदसहित प्रमाणपत्र र ट्रफी, दोस्रो हुने टिमले ५ हजार नगदसहित प्रमाणपत्र र ट्रफी तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित प्रमाणपत्र र ट्रफी पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए । विद्यार्थीको सीप विकास गर्ने उद्येश्यले प्याव्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै गरेको पनि प्याब्सकका महासचिव श्रेष्ठले जनाए ।
१८ वर्षअघि स्थापना गरिएको प्याब्सकले पटक पटक विभिन्न प्रकारका कार्यक्रम गर्दै आएको जनाएको छ । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिता भएको आयोजकले जनाएको छ । प्याव्सकमा ४० भन्दा बढी निजी तथा आवासीय विद्यालय समावेश छन् ।


