काठमाडौं । सामसङले नेपालमा टेलिभिजन उत्पादन शुरू गरेको छ।
हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा कारखानाको उद्घाटन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले टेलिभिजन कारखानाको उद्घाटन गरेका छन्।
उद्घाटन समारोहमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क लगायतको उपस्थिति थियो।
समारोहमा मन्तव्य राख्दै सामसङ दक्षिण–पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले नयाँ टेलिभिजन कारखानाले नेपालसँग कम्पनीको सम्बन्धलाई अझ मजबूत बनाउने र नेपालीलाई रोजगारीका अवसरहरू उपलब्ध गराउने बताए। उनले दक्ष जनशक्ति निर्माण गर्न पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने बताए।


