काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कामका लागि स्वदेशमै अवसर खोज्नुपर्ने बताएका छन् ।
मन्त्री महतले बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानले काठमाडौँमा आयोजना गरेको ‘इन्टरप्रेनसीप मोटिभेसन कन्क्लेभ’लाई सम्बोधन गर्दै विदेश जाने वित्तिकै सबै कुरा प्राप्त गर्न सकिन्छ भन्ने भ्रमबाट युवाहरुलाई मुक्त गर्न जरुरी भएको बताए ।
‘हामीकहाँ विकास हुनबाँकी छ । यसकारण यहाँ अवसर प्रशस्त छ । विदेशमा सबै भौतिक सुविधा हुँदा पनि त्यहाँ खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ’ अर्थमन्त्री डा महतले भने,‘अवसर हेर्ने सुक्ष्म आँखा चाहियो यही अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, करछुट लगायतका सुविधा दिइरहेको छ । अहिले युवाहरुमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबी हुँदै गएको छ, जुन चिन्ताको विषय हो ।’


