काठमाडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गर्दै सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार काठमाडौंमा आज आयोजित एक समारोहबीच यसको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरेका छन् ।
सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुका अनुसार श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृती नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरु पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत् सहभागी हुन सकिन्छ ।
यो योजना सुरु भएसँगै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक लाभान्वित हुने विश्वास छ ।
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा रु ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई रु तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ ।


