काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको छ । नयाँ सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले पुस २४ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाएको थियो । निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।


