काठमाडौं । प्रधानमन्त्री दाहाल प्रचण्डले मिटरब्याज पीडितका माग पुरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले शनिबार बालुवाटार पुगेका मिटरब्याज पीडितसँग कुराकानी गर्दै यसो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘र्यापिड एक्सन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने बताए, ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटरब्याज पीडितहरूलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ ।’
आफू यस पटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएको उनले बताए, ‘ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन ।’


