काठमाडौं । पछिल्लो समय सरकारले राजश्व चुहावट रोक्न थप कठोर बन्ने संकेत गरेको छ । यसैबीच अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रूत गस्ती निरीक्षण टोली गठन गरेको छ।
मन्त्रालयका अनुसार पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुँदैछ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप(महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप(महानिर्देशकले गर्नेछन् ।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको १०० दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रूत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो ।