काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बृद्धि गरेको हो । यसैगरी डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाएको छ ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ तोकेको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ र तेस्रो वर्गका लागि १५१ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल तोकेको छ ।


